धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा सांसद अरुणको नाम अटाएन

राष्ट्रपति निर्वाचनको  मतदाता  नामावलीमा सांसद अरुणको नाम अटाएन

काठमाण्डौं । निर्वाचन आयोगले राष्टपति निर्वाचनका लागि सार्वजनिक गरेको मतदाता सुचीमा नागरिक उन्मुक्ति पार्टीका सासद  अरुण चौधरीको नामा समावेश गरिएको छैन ।

आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार ८ सय ८१ जनाको मतदाता सूची सार्वजनिक गरेको छ ।

आयोगले तीन साता जेल बसेर आइतवार छुटेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता सूचीमा राखेको छैन ।

चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बिजयी भएका थिए । चौधरी फागुन ७ गते जिल्ला कारागार कैलालीबाट रिहा भएका थिए । उनलाई प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी सजाय मिनाहा गरिदिएकी थिइन् ।

चौधरी पक्राउ परेको सूचना संसद् सचिवालयमा सुनाइएको थियो । त्यहीकारण उनको नाम परेन । तर सभामुख देवराज घिमिरले बुधबारको संसद बैठकमा उनी जेलबाट रिहा भएको जानकारी संसदलाई दिएका छन् ।

 यसैबीच, सांसद र चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।  मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो ।

आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमार्फत सार्वजनिक गरेको मतदाता नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा सदस्य ५ सय ५० जनाको नाम रहेको छ ।

संघीय संसदतर्फ ३३४ सांसद हुन्छन् । जसमा चितवन क्षेत्र नम्बर २ अहिले रिक्त छ । त्यहाँका सांसद रवि लामिछानेको पद खारेजीमा परेकाले आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

उता मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको नाम पनि मतदाता नामवालीमा छैन । उनी निलम्बित अवस्थामा छन् । गुरुङमाथि भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

 


ट्रेन्डिङ