काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेका जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू निस्किन थालेपछि पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारेमा पार्टीमा गम्भीर रूपमा समीक्षा हुन थालेको हो ।
पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण नेता तथा कार्यकर्ता पार्टी छाड्न थालेपछि जनमत पार्टीका अध्यक्ष राउतले त्यसका विभिन्न १९ वटा कारण औँल्याएका छन् ।
हालै सम्पन्न सचिवालयको बैठकमा पार्टी छाड्ने नेताको बारेमा विभिन्न कोणबाट छलफल गरेका छन् । अध्यक्ष राउतले पार्टीमा मान्छे जोडिनु मात्र ठुलो कुरो होइन, निर्वाचनको समयमा त्यसले कस्तो प्रभाव पार्दछ त्यसको आधारमा मूल्याङ्कन हुनु पर्ने धारणा बताएका छन् ।
उनले भनेका छन्, ‘कुनै सदस्य १० वर्षदेखि जिउ ज्यानले लागेको छ, तर जेसुकै बहानामा किन नहोस् निर्वाचनमा गएर आफ्नो पार्टीसँग गद्दारी गर्ने, बागी उठिदिने, अर्को पार्टी वा उम्मेदवारलाई समर्थन गरिदिने, चुपचाप बसिदिने गर्यो भने त्यस्तो नेता कार्यकर्ता हामीसँग १० वर्ष रहनु घातक हो ।
त्यस्तो नेता कार्यकर्तालाई १० दिन पनि हाम्रो पार्टीमा बस्न दिनु हुँदैन, नभए हाम्रो सङ्गठन प्रयोग गरेर उल्टो भाँडभैलो मच्चाउनेछ, जनमत पार्टीको आफ्नो भोटलाई पनि विकृत र विखण्डित गर्दछ ।’
अध्यक्ष राउतले केन्द्रको निर्देशन नमान्ने, नेतृत्व र पार्टीप्रति आदर भाव नराख्ने, आफूले भनेकै मान्छे वडाध्यक्ष, पालिका अध्यक्ष, इन्चार्ज पदाधिकारी हुनुपर्ने, टिकट पाउनु पर्ने आदि जस्तो ढिपी गर्ने, पार्टीको सूचना चुहावट गर्ने, जासुसी गर्ने जस्ता नेता कार्यकर्ताहरूलाई माला लगाएर अहिले नै बिदाइ गर्नु उपयुक्त हुने निर्णय सचिवालयको बैठकले गरेको बताइएको छ ।