धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कांग्रेसले टुंग्यायो एक जिसस प्रमुखसहित १० उम्मेदवार

कांग्रेसले टुंग्यायो एक जिसस प्रमुखसहित १० उम्मेदवार

काठमाडौँ । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १० उम्मेदवारको टुंगो लगाएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ४४ स्थानमध्ये एक जिसस प्रमुखसहित १० स्थानमा उम्मेदवार सर्वसम्मत चयन भएको हो। बाँकी स्थानको उम्मेदवार टुंगिने क्रममा रहेको उनले बताए।

कांग्रेसले ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ को वडाध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका– ६ मा रामगोपाल वली, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदार, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८ मा नगेन्द्र लिम्बू, सुनसरीको गढी गाउँपालिका– ६ मा तेतर साहलाई उम्मेदवार बनाएको छ।

यसैगरी, ओखलढुंगा, जिसस प्रमुखमा टेकराज भट्टराई, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका– १२ मा  सञ्जीव काफ्ले र बेलका नगरपालिका– ९ मा नवराज बस्नेत तथा गोरखाको गोरखा नगरपालिका– ५ मा भाइकाजी आलेलाई अघि सारिएको छ।

२ मंसिर मा उम्मेदवारी मनोनयनको समय रहे पनि कांग्रेसले काठमाडौं उपत्यकासहित ३४ स्थानका उम्मेदवार टुंगो लगाउन सकेको छैन।

 


ट्रेन्डिङ