धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

खाद्य कम्पनीको कोटा अनुसार धान खरिद भएन

खाद्य कम्पनीको कोटा अनुसार धान खरिद भएन

धनगढी । खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कोटा अनुसार धान खरिद गर्न सकेको छैन् । चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि ५५ हजार क्विन्टल खरिद कोटा निर्धारण भएकोमा ३४ हजार पाँच सय एक दशमलव ८४ क्वीन्टल मात्रै धान खरिद भएको छ । खाद्य कम्पनीले चार महिनाको अवद्यिमा कैलालीका ६ ठाउँबाट धान खरिद गरेको थियो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दिपक थापाका अनुसार खाद्य कम्पनी किसानको घर–घर पुग्न नसर्नु र मिलहरु किसानका घर–घर पुगेर धान खरिद गर्दाले नै कोटा अनुसार धान खरिद गर्न नसकिएको हो । सरकारले किसान प्रति गरेको लगानीले गर्दा पनि धान उत्पादन लगायत बिक्रि वितरणमा प्रभाव पार्ने गरेको उनले बताए । 

खाद्य कम्पनीले तीन गोदाम र तीन खरिद केन्द्रबाट धान खरिद गरेको थियो । खाद्य कम्पनीले मोहनपुर गोदाम धनगढीबाट २२ हजार ४२ दशमलव ६१ क्विन्टल, टीकापुर गोदामबाट १४ हजार नौ सय ५८ दशमलव ७१ क्विन्टल र सत्ती गोदामबाट १० हजार दुई सय ६८ दशमलव ५७ क्विन्टल धान खरिद गरेको छ । 

यस्तै भजनी खरिद केन्द्रबाट दूई हजार पाँच सय ९१ दशमलव ८४ क्विन्टल, जोशीपुर खरिद केन्द्रबाट चार हजार एक सय ४२ दशमलव ६६ क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट दुई सय ९७ दशमलव ४५ क्विन्टल धान गरिद भएको खाद्य तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । 

प्रमुख थापाले भने, ‘प्रत्येक पालिका वडा–वडासम्म पुगाउन सकेको भए त्यहाँबाट पनि अलिकति धानहरु आउन मदत पुग्थ्यो । हामीले अझै धेरै ठाउँमा काटा राख्न सकेको भए अलि बढी धान आउन सक्थ्यो ।’
उनले बजारको मुल्य भन्दा खाद्य कम्पनीको मुल्य बढी नै रहेको बताए ।

किसानहरुलाई खाद्य कम्पनीले खरिद प्रक्रिया बारे जनचेतना जगाउन सकेको भए पनि धान खरिद बढेर जान सक्ने बताए । उनले आफुहरुले यस सम्बन्धी किसानलाई जनचेतना फैलाउन नसकिएको बताए ।

मौसमका कारणले गर्दा पनि धान उत्पादनमा असर पर्ने र उत्पादनमा कमी आएकाले गर्दा पनि धान खरिद हुन नसकेको उनको भनाइ छ । 

चालु आर्थिक वर्षमा खाद्य कम्पनीले एक हजार सात सय ७० किसानबाट ११ करोड ७६ लाख ६८ हजार आठ सय ७० रुपैयाँ बराबरको धान खरिद गरेको थियो ।

खाद्य कम्पनीले खरिद गरेको धान मध्य १३ हजार एक सय ३३ क्विन्टल धान कुटाई चामल निकालिसकेको छ, भने २१ हजार तीन सय ६८ क्विन्टल धान कुटाउन बाँकी रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । 

विगतका वर्षहरुमा गोदाम अभावले गर्दा भाडाका गोदाममा धान राख्दै आइरहेको भए पनि यस वर्ष पालिकाहरुले गोदाम उपलब्ध गराएपछि खाद्य कम्पनिलाई धान खरिदमा केही सहज भएको थियो । कम्पनीले पराल, भुस, पोकटा, माटो नभएको सफा धान र नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गर्दै आइरहेको छ । 

गत आर्थिक वर्षमा कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ५८ रुपैयाँमा खरिद गरेको थियो । तर, यस वर्ष भने मुल्य बढाएर प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको थियो । 

किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस र स्वघोषणा–पत्र ल्याउनु पर्ने बताइएको थियो । खाद्य कम्पनीलाई गत वर्ष ३५ हजार धान खरिद गर्ने कोटा निर्धारण गरिएकोमा २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । 
 


ट्रेन्डिङ