धनगढी पोष्ट आइतबार, ०१ असार २०८२   June 15, 2025

रेशम चौधरी पक्राउ प्रकरणमा सरकारले जवाफ नदिए सरकार छोड्ने नाउपाको चेतावनी

रेशम चौधरी पक्राउ प्रकरणमा सरकारले जवाफ नदिए सरकार छोड्ने नाउपाको चेतावनी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए सरकार छोड्न बाध्य हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले मंगलबारसम्म जवाफ नदिए सरकार छोड्ने चेतावनी दिएका हुन् ।

‘भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,’ उनले भने । सरकारमा नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन् ।

यही १७ वैशाखमा सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रपछि प्रहरीले रेशमलाई प्रकाउ गरेको थियो ।

पक्राउ गरेर अपहरणको शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याएको रेशमका बुबासमेत रहेका सांसद चौधरीले बताए ।

सर्वोच्चका कर्मचारी विष्टको पत्र फर्जी भन्दै केही घण्टामा रेशम चौधरीलाई छाडिएको थियो ।