इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सरकारले गरेको सामाजिक सञ्जाल सूचीकरण सम्बन्धी निर्णय कार्यान्वयनको तयारी सुरु गरेको छ ।
आइस्पानको बिहीबार बसेको बैठकले प्राविधिक समितिलाई सक्रिय बनाउँदै भोलि (शुक्रवार) दूरसञ्चार प्राधिकरणसँग छलफल गर्ने र त्यसपछि मात्रै बन्द प्रक्रियामा जाने निर्णय गरेको हो ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीले सरकारको निर्देशन प्राप्त भइसकेको भन्दै प्राधिकरण र मोबाइल सेवा प्रदायकसँगको छलफलपछि प्राविधिक प्रक्रियाको आधारमा बन्द गर्ने समय निर्धारण गरिने बताए ।
भोलि बेलुकासम्म सरकारको निर्णय कार्यान्वयन भइसक्छ,” पराजुलीले भने, “तर प्राविधिक पक्ष र लोड व्यवस्थापनका कारण शुक्रबारदेखि मात्रै सामाजिक सञ्जाल बन्द हुन सक्छ ।
उनका अनुसार सबै सामाजिक सञ्जाल एकैपटक बन्द गर्दा सर्भरमा असामान्य लोड पर्न सक्ने भएकाले एक–एक गर्दै बन्द गर्नुपर्ने हुन्छ । विशेषगरी फेसबुक र युट्युब जस्ता प्लेटफर्मको ट्राफिक बढी हुने भएकाले तत्कालै इन्टरनेट प्रयोगमै असर पर्न सक्ने सम्भावना पनि उनले औंल्याए ।